डिजिटल युगको विकास संगै पत्रकारहरुले आफ्नो ज्ञान, सीप र क्षमता निरन्तर अद्यावधिक गर्नुपर्ने आवश्यकता महसुस गर्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको वेबसाइटलाई आज बाट शुरुवात गर्न पाएकोमा हर्षित छु । शाखालाई प्रविधिमैत्री र सूचना मैत्री बनाउने उद्देश्यले वेबसाइट निर्माण कार्य अघि बढाएका हौं । हुलाकबाट समाचार पठाउने समय देखि शुरु भएको कपिलवस्तुको पत्रकारितालाई डिजिटल युगमा वेवसाइट मार्फत प्रकाशन प्रशारण गर्न पाउनु हाम्रा लागि खुशीको बिषय हो । वेवसाइट मार्फत जिल्लाका सम्पुर्ण सदस्य, सञ्चार माध्यम, स्थानीय तह, सरकारी तथा गैर सरकारी निकाय, राजनैतिक दल, सामाजिक क्षेत्र, वन समूहहरु, उद्योगी व्यवसायी, आम नागरिक र सञ्चार उपभोक्ताहरु यसबाट लाभान्वित हुनेछन् ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आठौं शाखा अधिवेशनबाट निर्वाचित कार्यसमितिले आफ्नो कार्यकालको सुरुवाती चरणदेखि नै शाखालाई थप व्यवस्थित, सक्रिय, सुदृढ बनाउदै आइरहेको छ । शाखाले पत्रकारको क्षमता विकास देखि संस्थागत विकास र पत्रकारको पेशागत हकहितका विषयमा विभिन्न महत्वपूर्ण कार्यहरु अघि बढाउदै आएको छ ।

यस अवधिमा शाखाको नियमित बैठकलाई निरन्तरता दिँदै पत्रकारिता क्षेत्रका समसामयिक विषय, शाखाको संस्थागत विकास, सञ्चारकर्मीको क्षमता अभिवृद्धि तथा पत्रकारका पेशागत समस्याका विषयमा छलफल गरी आवश्यक निर्णय गर्दै आएका छौं । बैठक मार्फत अधुरा भवन निर्माण पूरा गर्ने, सूचना केन्द्रको निर्माण सम्पन्नता र सञ्चालन गर्ने, शाखालाई आत्मनिर्भर बनाउने, पत्रकारिता तालिम सञ्चालन गर्ने, सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने तथा विभिन्न संघसंस्थासँग सहकार्य विस्तार गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू कार्यान्वयनमा ल्याएका छौं । पत्रकारको क्षमता विकासलाई हामीले विशेष प्राथमिकता दिएका छौं ।

पत्रकार महासंघ कपिलवस्तुको वेभसाईट मार्फत हामीले हाम्रा संचारकर्मीहरुको सम्पूर्ण विवरण, कार्यसमितिको विवरण, पत्रकार महासंघको विधान, पत्रकार आचारसंहिता सम्बन्धी जानकारीका साथै जिल्लाका संचारमाध्यम र केन्द्रिय पत्रकार महासंघ, प्रेस काउन्सील, सूचना विभाग, विज्ञापन बोर्ड लगायत संग लिंक गराउने कार्य पनि गराउने छौ । आगामी दिनहरुमा वेभसाइटलाई थप परिष्कृत गर्दै जिल्लाभरका समाचारहरुको न्यूज बैंक बनाई स्थानीय मिडियाहरुमा अडियो, भिडियो तथा समाचारहरु सम्प्रेषण गर्ने समेत लक्ष्य लिएका छौ । धन्यवाद ।